काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आउँदो जेठ पहिलो हप्ताभित्रै स्थानीय तहको चुनाव गर्ने विषयमा छलफल भएको छ ।
आज मङ्गलवार दिउँसो भएको छलफलमा जेठ पहिलो हप्ताभित्रै स्थानीय तहको चुनाव गर्ने विषयमा छलफल भएको हो । छलफलमा जेठ ४ गते चुनाव गर्ने मोटामोटी सहमति भएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
यसअघि प्रधानमन्त्री देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा जुट्न आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।
गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।
-उज्यालो अनलाइनबाट