Sagun Khabar
विद्युतको मिटर पाउनै नागरिकलाई सकस 
Atrya hospital

बैतडी –बैतडीमा विद्युतको मिटर उपलब्ध नहुँदा ग्राहकहरुलाई समस्या भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा मिटर उपलब्ध नहुँदा समस्या भएको मेलौली नगरपालिका २ का भवानी भट्टले बताए । पोल गाडेको चार बर्षपछि विद्युत लाइन विस्तार भएपनि मिटर नहुँदा घरमा विद्युत जडान गर्न नसकिएको उनले बताए । उनले भने ‘धेरै लामो समयपछि विद्युत विस्तार भएको थियो । तर मिटर नहुँदा घरमा विद्युत जडान गर्न पाएका छैनौं ।’

मेलौलीकै पारस भट्टले पनि विद्युत मिटर उपलब्ध गराईदिन निवेदन दिएको धेरै समय भएको भएपनि मिटर उपलब्ध नभएको गुनासो गरे । मिटर नभएकै कारण मेलौली २ का ६ सय घरपरिवार विद्युत बाल्नबाट वञ्चित भएका उनले बताए । उनले भने ‘हामीले विद्युतको मिटरका लागि निवेदन दिएको दुई महिना पूरा भईसकेको छ । तर विद्युत मिटर अझै उपलब्ध हुन सकेको छैन् ।’

यस्तै विभिन्न कारणले मिटर बिग्रेकाहरुले पनि विद्युत मिटर पाउन सकेका छैनन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रबाटै विद्युतका मिटर नआएकाले समस्या भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । यो समस्या देशैभरी रहेको उनले सुनाए । विद्युतका मिटर खरीद भएको जानकारी आएको र केन्द्रबाट प्राप्त हुने बित्तिकै विद्युत मिटर वितरण गरिने लेखकले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update