बैतडी –महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिता बढाउनका लागि बैतडीमा महिला नेतृत्व मञ्च मार्फत पहल शुरु भएको छ । स्थानीय सरकारमा सहभागी महिला जनप्रतिधिहरुको सिकाई र अनुभव आदानप्रदान गर्ने र नयाँ नेतृत्वका लागि महिलाहरुलाई तयार पार्नका लागि मञ्च गठन गरिएका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा वडास्तरदेखि नै यस्ता मञ्च गठन गरिएका छन् । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले महिला नेतृत्व मञ्च गठन गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । उनले भने ‘स्थानीय तहका सरकारमा महिलाको अर्थपूर्ण सहभागिताका लागि पहल गर्ने उद्देश्यले हामीले महिला नेतृत्व मञ्च गठन गरेका हौं । संविधानले सुरक्षित गरेको स्थानमा मात्रै नभएर खुला प्रतिस्पर्धाबाट पनि महिलाको सहभागिता बढाउन महिला नेतृत्व मञ्चमा छलफल हुने गरेको छ ।’
महिला नेतृत्व मञ्च गठन गरेर राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता गराउन र उनीहरुको जिविकोपार्जनमा सुधार ल्याउनका लागि छलफल हने गरेको रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए ।
महिला नेतृत्व मञ्चका पदाधिकारीहरुलाई विभिन्न खालका तालिम दिएर उनीहरुको क्षमता अभिवृद्धिका लागि प्रयास भईरहेको लोहारले बताए ।
महिला नेतृत्व मञ्च मार्फत महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि पहल गर्ने गरेको पाटन नगरस्तरीय महिला नेतृत्व मञ्चका अध्यक्ष अनिता जोशी भट्टले बताइन् । उनले भनिन् ‘महिलाको राजनीतिमा सहभागिता अभिवृद्धिका लागि संविधानमै व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था मात्र नभएर अब हामीले खुला राजनीतिबाट प्रतिनिधि चयन हुनुपर्छ भनेर हामीले छलफल गरिरहेका छौं ।’
राजनीतिबाट राज्यका निकायमा महिलाको सहभागिता अभिवृद्धि भएमा आफूहरुका समस्या समाधानका लागि सहज हुने मञ्चमा सहभागी महिलाहरुले बताएका छन् ।
पाटन नगरपालिकामा नगरस्तरीय र वडा स्तरीय महिला नेतृत्व मञ्चमा २ सय ७५ जना महिलाको सहभागिता छ भने दशरथचन्द नगरपालिकामा ३ सय जनाको सहभागिता रहेको छ । मञ्चमा आवद्ध महिलाहरुको क्षमता अभिवृद्धि हुनका साथै नेतृत्व लिनका लागि उनीहरुलाई तयार पार्ने काम भईरहेको छ ।
यस्तै महिला नेतृत्व मञ्चमा निर्वाचित महिला जनप्रतिनिधिहरु पनि भएकाले उनीहरुका अनुभव र सिकाई आदानप्रदान गर्ने गरिएको छ ।