बैतडी – बैतडीका विभिन्न गाउँमा ज्वरोका बिरामी भएपनि परीक्षण भने हुन सकेको छैन् । कतिपय ठाउँमा नागरिक नै कोरोना परीक्षण गर्न अनिच्छुक देखिन्छन् भने कतिपय ठाउँमा परीक्षणको दायरा बढाउन सकिएको छैन् ।
जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । रुघाखोकी, ज्वरो आउने लगायतका बिरामीहरु पनि बढ्दै गएका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने ‘रुघाखोकीको लक्षण भएका धेरै बिरामी छन् । तर कोरोना परीक्षण गराउनेको संख्या कमै छ ।यस्तो अवस्थामा परीक्षण गराएमा कोरोना फैलिन पाउँदैन् ।’
मेलौली नगरपालिकाका पनि विभिन्न स्थानमा कोरोनाको लक्षण भएका बिरामी धेरै रहेका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए । तर परीक्षण गराउनको संख्या निकै कम भएको उनले सुनाए । उनले भने ‘हामीले स्वास्थ्यका मापदण्ड अपनाउन सकेनौं भने यसले हामीलाई समस्या निम्त्याउन सक्छ । त्यसैले शंकास्पद बिरामीहरुले परीक्षण गराउनु आवश्यक छ ।’
गाउँमा रुघाखोकी र ज्वरोका बिरामी भएकाले सावधानी अपनाउनुपर्नेमा दयालले जोड दिए । उनले भने ‘जनस्वास्थ्यका मापदण्ड अपनाउने, खानपीनमा र सरसफाईमा ध्यान दिनुपर्दछ ।’
कोरोना भाइरसको संक्रमण फैलिरहेकाले रुघाखोकी तथा ज्वरोका बिरामीहरुले कोरोना परीक्षण गराउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । अन्य रोगहरु पत्ता नलाग्दा सम्म अहिले सम्म ज्वरोका बिरामीहरु कोरोना बिरामी हुन भनेर बुझ्नुपर्नेमा उनले जोड दिए ।