बैतडी –नेपाली कांग्रेस बैतडीले प्रत्येक वडाका टोलहरुमा टोल समिति विस्तार गर्न थालेको जनाएको छ । जिल्लाका अधिकांश वडाका टोलहरुमा टोल समिति गठन भईसकेका र केही वडामा टोल समिति गठन गर्ने कार्य भईरहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
पार्टीको सबैभन्दा तलको संगठनको रुपमा टोल समिति गठन गर्न लागिएको उनको भनाई छ । आगामी स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर राखेर टोल समितिहरु गठन भईरहेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । उनले भने ‘हामीले अहिले पार्टीको संगठन बलियो बनाउने अभियान सञ्चालन गरेका छौं । सोही अभियान अन्तर्गत अहिले टोल समिति गठन गरिरहेका छौं ।’
जिल्लाको डिलाशैनी गाउँपालिकाका विभिन्न वडाहरुमा टोल समिति गठन गरिएको नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले बताए । पार्टी संरचनालाई बलियो बनाउन आफूहरुले टोल समिति गठन गर्ने गरेको उनले बताए ।
वडा, पालिका र जिल्लामा नयाँ नेतृत्व आएकाले टोल समितिलाई पूर्णता दिने कार्य भईरहेको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्दले बताए । कांग्रेसले अब जिल्लामा दैलो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
प्रत्येक नागरिकको घरमा पुग्ने र उनीहरुका समस्याका बारेमा बुझ्ने अनि कांग्रेसको विचार र रणनीतिका बारेमा बताउने हिसाबले दैलो कार्यक्रम सञ्चालन हुने चन्दले बताए । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन हुने उनले बताए ।