हिमपातका कारण अवरुद्ध बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन खोपडे–श्रीभावर लगायतका ठाउँहरुमा भारी हिमपात भएकोले उक्त सडक खुलाउन समय लागेको हो । बन्द रहेको उक्त राजमार्ग पुनःसञ्चालनका लागि जेसिभी प्रयोग गरी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
जयपृथ्वी राजमार्ग खुलाउन ढिलाइ हुँदा उक्त क्षेत्रमा रोकिएका यात्रुहरु अलपत्र अवस्थामा रहेका छन । बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै हिमपात भएको थियो । हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग, दार्चुला जोड्ने महाकाली राजमार्ग भने सञ्चालनमा आएका छन । भारी हिमपातका कारण बिहीबार अपराह्नदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
बिहिवार देखि हिमपातका कारण अवरुद्ध बैतडी लगायत पहाडी जिल्लाको विधुत सेवा समेत सुचारू भएको छैन । धेरै ठाउँहरूमा हिमपातका कारण तार पोलहरू बिग्रेकोले पुर्ण रूपमा बिधुत सेवा सञ्चालन हुन २÷३ दिन समय लाग्न सक्ने बिधुत वितरण केन्द्र बैतडीका सुपरभाइजर माधव लेखकले बताए । बिधुत अवरुद्ध भएपछि मोबाइल नेटवर्कले काम नगर्दा सेवाग्राही मारमा परेका छन ।