बैतडी- बैतडी लगायत देशभरी आज सरस्वती पुजा गरिदैछ । हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज मनाइदैछ ।
विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब , कपी, कलम, बाध्ययन्त्र लगायत साधनको पूजा गर्ने गरिन्छ ।
आजकै दिन बालबालिकाहरुलाइ अक्षरारम्भ अर्थात पहिलो चोटि विद्या सिकाउन उत्तम साइत मानिने गरेको पाटन नगरपालिका ३ कल्तडी बसन्तपुरका ज्योतिष तथा पण्डीत पाण्डव भट्टले बताए । यसैगरि करणवेद,चुडाकर्म (बर्तवन्ध) यग्योपवित्र लगायतका कामहरु गर्न आजको दिन उत्तम रहने जानकारहरूको भनाइ छ ।
विद्यालयहरूमा सरस्वतीको पूजाको दिन धुमधामका साथ पुजा गर्ने गरिए पनि यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घर घरमा नै सरस्वतीको पूजा आराधाना गरिँदै छ । यस अघिका बर्षहरूमा सबैजसो सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिदैछ ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गर्नुभएको सरस्वती सम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको र यो पाठ १५ श्लोकको रहेको जनाएको छ । आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ ।