बैतडी-जिल्ला कारागार बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापन गर्न निकै समस्या भएको छ ।
जिल्ला कारागार बैतडीमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएपनि अहिले ८१ जना कैदी बन्दी रहेका कारागारका जेलर नैन सिंह कार्कीले जानकारी दिए । क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी कारगारमा भएपछि व्यवस्थापन गर्न निकै समस्या परेको जेलर कार्कीले बताए ।
कारागारमा अहिले १८ जना कैदी र ६३ जना थुनुवा रहेका छन् । कोठाको अभावमा दुईतले बेड बनाएर कैदीबन्दीहरुलाई बसोबासको व्यवस्था मिलाइएको जेलेर कार्कीले बताए । उनले भने ‘जीर्ण भवन छ , कोठा कम छन्, खानेपानिको समस्या छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।’
जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नभएको भन्दै कैदीबन्दीहरुले बेलाबेलामा गुनासो समेत गर्ने गरेका छन् । २०४० सालमा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएपनि कोठा थपिएको छैन् । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा सरसफाइ लगायत अन्य व्यवस्था मिलाउन गाह्रो भईरहेको कार्कीको भनाइ छ ।
कारागार आउने जाने बाटो समेत चिप्लो भएको कारण अप्ठ्यारो भएको उनको भनाई छ । बाटो मर्मत हुन नसक्दा कैदीहरूलाइ अदालत ल्याउन लैजान समेत निकै समस्या रहेको कार्कीले गुनासो गरेका छन ।