बैतडी-बैतडीको मुस्याचौर , गुरूखोला क्षेत्रमा रहेको खानेपानीको समस्या समाधानका लागि खानेपानी योजना अगाडि बढने भएपछि स्थानीय वासी खुसि भएका छन । पणेली गाउँ मुस्याचौर खानेपानी निर्माण योजना बन्ने भएपछि स्थानीय खुसी भएका हुन ।
नजिक पानी मुहान नभएका कारण लिप्टिङ्ग सिस्टमबाट पानी तान्ने गरि गत बर्ष देखि योजना सुरू भएको थियो । उक्त योजनामा यस बर्ष २५ लाख बजेट थप आएपछि योजनाको काम अगाडि बढने भएको छ । सुदुरपश्चिम सरकारले बिनियोजन गरेको बजेट अन्तर्गत उक्त योजनाको लागि १६ लाख ५० हजार बराबरको काम गत आर्थिक बर्षको बजेटमा भईसकेको उपभोक्ता समितिका अध्यक्ष नर बहादुर टेरले बताए ।
दशरथचन्द न पा १ मा पानिको चरम समस्या भएका कारण माग गरे अनुसार प्रदेश सांसद लिलाधर भट्टको पहलमा रकम विनियोजन भएको योजना अनुगमन समितिका सदश्य बिष्णु भट्टले बताए ।
उक्त योजनाको मुहानमा गत बर्षको बजेटमा इन्टेक,फिल्टर ट्यांकी ,६० हजार बराबरको ट्याङ्की निर्माण कार्य सम्पन्न भइसकेको खानेपानी डिभिजन कार्यालय बैतडीका प्राबिधिक नरेन्द्र ठगुन्नाले बताए । यस बर्ष ८० हजार लिटरको ट्याङ्की सुख्खा फलफुल विकास केन्द्रको जमिनमा बनाउने र जिआइ पाइप लाइन ब्छियाउने कार्य गर्ने तयारी रहेको प्राबिधिक ठगुन्नाले बताएका छन ।
उक्त खानेपानी योजना सम्पन्न भएपछि मुस्याचौर गुरूखोला , खालका १५० घर परिवारलाइ मिटर सिस्टमबाट घर घरमा धारा बनाएर पानी वितरण गर्ने योजना रहेको उपभोक्ता समिति अध्यक्ष नर बहादुर टेरले बताएका छन । योजना बन्न थप बजेट विनियोजन भएपछि यस क्षेत्रमा बर्षौ देखि झेल्दै आएको खानेपानीको समस्या हट्ने आशा पलाएको स्थानीय भुपेन्द्र चन्दले बताएका छन ।