बैतडी-पत्रकार महासंघ बैतडीको विवाद झन झन पेचिलो बनेको छ । विगत एक वर्ष देखि शुद्धीकरणको माग राख्दै आन्दोलित बैतडीका पत्रकारहरू आफ्नो अडानमा रहदा शुद्धीकरण गर्नसमेत राजनीति हावि भएकोले विवाद समाधानको सट्टा झन विवाद चर्कदै गएको छ । महासङ्घको विवाद मिलाउन बैतडी पुगेको प्रदेश महासंघको टिम विना सहमति रित्तो हात फर्केको छ ।
पछिल्लो समय महासंघ बैतडीको नयाँ कार्यसमिति चयन गर्न पत्रकारका चार सङ्गठनको सहमति भएको भनिए पनि प्रेस चौतारीले समर्थन फिर्ता गरेको भन्दै प्रेस विज्ञप्ति जारि गरेको छ ।
पेशागत संगठनहरू र संगठन बाहिर रहेका स्वतन्त्र पत्रकारहरूको सहमति बिना बैतडीमा विवाद समाधान हुने नदेखिए पछि प्रेस युनियनको नेतृत्वमा चयन गर्ने गरि गरिएको चार वटा सङ्गठनको निर्णयबाट समर्थन फिर्ता लिएको प्रेस चौतारी बैतडीका अध्यक्ष सिपि लोहिया द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैतडी पत्रकार महासङ्घमा सातौं जिल्ला अधिवेशनका बेला ठूलो सङ्ख्यामा गैर पत्रकारहरूलाइ सदश्यता दिएको भन्दै विवाद हुँदै आएको छ । यस्तै सदश्यता शुद्धीकरण गर्नुपर्ने , वैधानिक रूपमा महासंघ बैतडीको नयाँ नेतृत्व चयन हुनुपर्ने लगायतका माग पूरा नहुँदासम्म कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘आफू अनुकुलको समिति बने मात्र ठिक नभए बेठीक’ भन्ने मनसाय बोकेर प्रदेश समितिको टिम बैतडी पुगेका कारण विवाद झन बढेको प्रेस चौतारीका प्रदेश कोषाध्यक्ष लोकेश साउदले बताए । साउदले भने ‘यस अघि माघ २८ गते बैतडीमा क्रियाशील पाँच सङ्गठन मध्ये तीन वटा संगठनले गरेको निर्णय मान्य हुँदैन भन्दै योगेश रावल नेतृत्वको टोलिले निर्णय अस्वीकार गरेका थिए तर, पाँच वटा सङ्गठनको पूर्ण सहमतिमा समिति चयन गर्छौ भन्दै प्रतिबद्धता जनाए पनि आफू अनुकुल निर्णयको लागि जस्तो सुकै निर्णय गर्न तयार रहेको दृश्य देखियो । पत्रकार महासङ्घ प्रदेश समिति प्रेस युनियनको पक्षमा मिसन बनाएरै लागेको भन्दै साउदले आरोप लगाएका छन् ।
प्रदेश महासङ्घको टिम बैतडी पुगेपछि युनियनको नेतृत्वमा कार्यसमिति चयन गर्न काँग्रेसका नेताहरूबाट दवाव आएको नाम नबताउने सर्तमा एक जनाले सूचना दिएका छन् । उनले भने ‘युनियनका एक जनाको नाम तोकेरै अध्यक्ष बनाउन काँग्रेसका एक नेताले भनेका हुन् ।’
विधानमा पत्रकार महासंघ निष्पक्ष संस्था रहने भन्दै व्यवस्था भए पनि महासङ्घ राजनीति गर्ने थलो जस्तै बनेको आरोप लाग्दै आएको छ । पत्रकारहरूको स्वतन्त्र संस्था महासङ्घ नै यसरी राजनीतिमा मुछिएपछि स्वतन्त्र रूपमा काम गर्ने पत्रकारहरू राजनीतिक चेपुवामा परेका भन्दै स्वतन्त्र पत्रकारहरूले गुनासो गरेका छन् ।
प्रेस चौतारी बैतडीले समर्थन फिर्ता लिँदै जारी गरेको विज्ञप्ति