Sagun Khabar
बैतडी पत्रकार विवादः चौतारीको आपत्ति, सेन्टरमा खैलाबैला

बैतडी । नेपाल पत्रकार महासंघ बैतडीको विवाद समाधानको सट्टा झनै जटिल बनेको छ । महासंघको प्रदेश टोलीले आइतवार सहमतिका नाममा झन बिवाद बल्झाएर गएको आरोप लागेको छ । तीन दिनको प्रयासपछि पनि अन्यौलतामै फर्किएको महासंघको टोलीले समाधान खोज्नु भन्दा मिसन बनाएर नेतृत्व टुंग्याउन खोजेकाले जिल्लामा व्यापक असन्तुष्टि देखिएको हो ।

प्रेस चौतारीले एक विज्ञप्ति जारी गर्दै बहुसंख्यक पत्रकारहरुको भावना बिपरित नेतृत्व चयनको प्रयास भएकाले उक्त प्रक्रियामा सहभागी नहुने जनाएको छ । चौतारीका जिल्ला अध्यक्ष सिपी लोहियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघको केन्द्रको पत्रअनुसार प्रदेश टोलीले काम नगरेको र सबै संगठनहरु समेत नसमेटिएको हुँदा थप छलफलको आवश्यकता देखिएको उल्लेख छ ।

गैर पत्रकारहरुलाई सदस्यता दिइएको बिषय विवादको मूल भएपनि उक्त बिषयलाई ओझेलमा पारेर पेशागत संगठनहरुसँग भागबन्डा गरेर नेतृत्व टुंग्याउँदा झनै बिवाद हुने चौतारीको धारणा छ । जिल्लाबासी पत्रकारहरुको भावना  बिपरित महासंघको निर्णय आए मान्य नहुने र उक्त कदमको प्रतिरोध गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

Atrya hospital

नेतृत्व चयन गर्ने बिषयमा चौतारी र मिडिया नेपाल एकातिर भएका छन भने सेन्टरमा समेत खैलाबैला मच्चिएको छ । सेन्टरका चार जना सदस्यले जिल्लाका संचारकर्मीहरुको भावना बिपरित महासंघ गएको र सो कार्यमा सेन्टरका प्रदेश नेताहरुले समेत ख्याल नगरेको भन्दै राजीनामा दिएका छन् । निर्णयमा पुर्नबिचार नभए सिंगो जिल्ला कमिटीले राजीनामा दिने घोषणा सेन्टरले गरेको छ ।

जिल्लाबासी पत्रकारहरुको माग अनुसार महासंघ अघि नबढेकाले निर्णयमा पुर्नविचार नगरे सेन्टरका सबै जनाले राजीनामा दिने जिल्ला अध्यक्ष करुणाकर भट्टले बताए । भट्टले आफूले भने राजीनामा नदिई माथिल्लो कमिटिसँग समन्वय गरिरहेको बताएका छन् ।

बिभिन्न उतार चढावका बीच प्रेस युनियन र समाजवादी प्रेस संगठन बाहेक तीन वटा संगठनको असन्तुष्टि सतहमा आएपछि जिल्ला नेतृत्व चयनमा थप जटिलता सिर्जना भएको छ । महासंघको प्रदेश कमिटीको सल्लाहमा जिल्लाका पेशागत संगठनहरुसँग गोप्य रुपमा भएको सहमति अनुसार युनियनलाई अध्यक्ष दिन खोजिएपछि समाजबादी प्रेस संगठनभित्र पनि असन्तुष्टि बढेको खुल्न आएको छ ।

गत चैतमा पत्रकार महासंघ बैतडी शाखाका अधिवेशनका क्रममा जिल्लामा कार्यरत संचारकर्मीहरुभन्दा झण्डै तीन गुना बढी ब्यक्ति सदस्य भएर आएपछि सक्रिय संचारकर्मीहरुले बिरोध गरेका थिए । जिल्लाबाटै सिफारिस गरिएका ५३ जना मध्ये पनि अधिकांश पत्रकारिता पेशासँग आवद्ध नभएका र प्रदेशबाट त्यो संख्या बढेर ७६ जनाको सूची आएको थियो । 

पुराना सदस्यहरुमध्ये पनि सक्रिय पत्रकारका नाम हटाएर १ सय ३२ जना गैर पत्रकारहरुको झुण्ड बनाइएको आरोप महासंघको तत्कालिन प्रदेश कमिटीलाई लागेको थियो । हाल बैतडीमा ३० देखि ४० जना पत्रकार मात्र सक्रिय छन । 

महासंघमा भने गाडीका सह चालक, कार्यालय सहयोगी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि गरी १ सय ३२ जना सदस्य छन् । सोही बिषयलाई लिएर सिर्जना भएको बिवाद हालसम्म पनि टुंगिन नसकेको हो ।

#सीमारेखा#


 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update