बैतडी–बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि नौ मतदानस्थल थपिएका छन् । यस्तै दुईवटा मतदानस्थललाई सार्ने निर्णय भएको छ ।
भौगोलिकरूपमा टाढा रहेका र मतदाता सङ्ख्या बढी भएका स्थानमा मतदानस्थल थप गरिएका जिल्ला निर्वाचन कार्यालय बैतीले जनाएको छ ।
जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका तथा डिलाशैनी गाउँपालिकामा मतदानस्थल थपिएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।
यसैबीच जिल्लाको मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको छ भने दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा अहिले नौ बढेर अब १२९ मतदानस्थल भएका निर्वाचन कार्यालयले जनाएको छ ।