बैतडी-महिलाहरूको राजनीतिमा अर्थपूर्ण सहभागिता बढाउनका लागि ३ दिने महिला नेतृत्व विकास तालिम बैतडीमा चलिरहेको छ । स्थानीय सरकारमा महिलाहरूको अर्थपूर्ण सहभागीता बढाउन , महिला जनप्रतिधिहरुको सिकाई र अनुभव आदानप्रदान गर्न र नयाँ नेतृत्वका लागि महिलाहरुलाई सक्षम पार्नका लागि अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले तालिमको आयोजना गरेको जनाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकामा यहीँ फागुन ४ गते देखि ६ गते सम्म सञ्चालन हुने गरि तालिम गोठलापानीमा सञ्चालन भइरहेको छ । महिला नेतृत्व मञ्चका पदाधिकारी र दशरथचन्द नगरपालिकाका प्रत्येक वडाबाट निर्वाचित १र१ जना महिला सदश्य गरि तालिममा ३० जनाको सहभागिता रहेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जोशीले बताए । उनले भने ‘स्थानीय तहका सरकारमा महिलाको अर्थपूर्ण सहभागिताका लागि पहल गर्ने उद्देश्यले हामीले महिला नेतृत्व विकास तालिम सञ्चालन गरेका गरेका हौं । संविधानले सुरक्षित गरेको कोटामा मात्रै सिमित नभएर खुला प्रतिस्पर्धाबाट पनि महिलाको सहभागिता बढाउन महिला नेतृत्व मञ्चमा छलफल भइरहेको उनले बताए ।’
महिलाहरूको नेतृत्व विकास गरेर राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता गराउन र उनीहरुको जिविकोपार्जनमा सुधार ल्याउनका लागि छलफल भइरहेकोे रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए । महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिता बढाउनकै लागि बैतडीमा महिला नेतृत्व मञ्च यस अघि नै गठन भइसकेको छ ।
तालिममा महिला नेतृत्व मञ्चमा निर्वाचित महिला जनप्रतिनिधिहरु पनि भएकाले उनीहरुका अनुभव र सिकाई समेत आदानप्रदान भइरहेको जनाएको छ ।