बैतडी-जिल्ला निर्वाचन कार्यालय बैतडीले फागुन २० गते सम्म मतदाता परिचयपत्र हराएका नागरिकहरूका लागि समयसीमा तोकेको छ । मतदानका लागि फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य भएकाले यस अघि मतदानमा भाग लिई मतदाता परिचय पत्र हराएका वा विभिन्न कारण नष्ट भएका व्यक्तिहरूले वडा कार्यालयको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।
सम्बन्धित व्यक्ति स्वयं आफैले निर्वाचन कार्यालयमा उपस्थित भएमा सिफारिस आवस्यक नहुने जनाएको छ । इमेल मार्फत बुझाउन चाहनेका लागि सम्बन्धित स्थानीय तहको सिफारीस अनिवार्य रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रसाद फुयाँलले बताए ।
अहिले जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने कार्य भइरहेको बताएको छ । यस अघि स्थानीय चुनावमा कायम गरिएका १२९ वटा मतदान स्थल, १७४ वटा मतदान केन्द्र र प्रतिनिधी सभाका १८७ वटा केन्द्र हालसम्म कायम रहेको अधिकृत फुयालले बताए । प्रतिनिधि सभाको चुनाव पछि धेरै संख्यामा मतदाता थपिएकोले केन्द्रहरु बढेर २०० सम्म पुग्न सक्ने अनुमान रहेको उनको भनाई छ ।
छैटौँ निर्वाचन दिवसको अवसर पारी जिल्ला निर्वाचन कार्यालयले सबै, सधैँ र सँगै भन्ने नाराका साथ आगामी बैशाख ३० गते हुने निर्वाचन सञ्चालनको तयारी तथा व्यवस्थापन गर्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम चलिरहेको जनाएको छ ।