बैतडी–बैतडीको मेलौली नगरपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सपोर्ट सोसाईटी नेपाल नामक संस्थाले सहयोगीहरूबाट चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
गत बर्ष बाट थालिएको अभियानमा देश तथा विदेशमा रहेका नेपालिहरुबाट सहयोग रकम संकलन गरेर नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी सहितको सुविधा सम्पन्न एम्बुलेन्स शनिबारबाट सञ्चालनमा आएको छ । उक्त एम्बुलेन्समा स्वास्थ्यकर्मी सहित सेवा दिने योजना रहेको संस्थाका सञ्चालकहरूको भनाइ छ ।
एम्बुलेन्स खरिद अभियानमा १३ लाख ८० हजार सहयोग संकलन भएको छ । जसमध्ये १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको सपोर्ट सोसाईटी नेपालका सचिव दशरथ सिंह नायकले बताए ।
मेलौली क्षेत्रमा आम सर्वसाधारणहरूले निकै सास्ती खेप्दै आएको हुनाले संस्थाले अभियान थालेको र अभियान थालेको छोटो समयमै राम्रो सहयोग प्राप्त भएपछि छिट्टै एम्बुलेन्स सेवा सञ्चालमा ल्याउन सफल भएको नायकले बताएका छन ।
एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकहरूलाइ समयमै अस्पताल पुग्न सजिलो हुने नायकको भनाइ छ । साथै चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवितिको अन्त्य हुनेमा विश्वस्त रहेको अभियान्ताहरूको भनाई छ । सामाजिक सेवामा सपोर्ट सोसाईटी नेपालले खेलेको भुमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मेलौली वासि निकै निकै खुशी भएका छन ।