Sagun Khabar
बैतडीमा बजार अनुगमन, म्याद नाघेका सामग्री विक्रि गर्नेलाई जरीवाना 

बैतडी –बैतडीमा बजार अनुगमन कार्य फेरी शुरु गरिएको छ । गएको दशैंतिहारपछि बजार अनुगमन हुन नसकेकोमा फेरी महाशिवरात्री पर्वलाई लक्षित गरेर बजार अनुगमन कार्य शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

चाडपर्वको बेलामा कालोबजारी हुने, म्याद नाघेका सामग्री बढी विक्रिवितरण हुने भएकाले बजार अनुगमन कार्य शुरु गरिएको उनले बताए । उनले भने ‘अरु समय भन्दा चाडपर्वको बेला म्याद नाघेका सामग्री विक्रि हुने सम्भावना रहन्छ । त्यसैले हामीले बजार अनुगमन कार्यलाई निरन्तरता दिएका हौं ।’

Atrya hospital

स्थानीय तहहरुसंग समन्वय गरेर बजार अनुगमन थालिएको सूचना अधिकारी भारतीले बताए । महाशिवरात्रीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने र ती ठाउँहरुलाई केन्द्रित गरेर बजार अनुगमन गर्न थालिएको बताइएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रीको अवसरमा मेला लाग्ने भएकाले सो क्षेत्रमा बजार अनुगमन गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ  ।  

गोकुलेश्वर क्षेत्रमा गरिएको अनुगमनका क्रममा २३ हजार ९१५ रुपैंया बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ । यस्तै अनुगमनका क्रममा ८ पसलेलाई जरीवाना समेत गरिएको छ । चारजनालाई १० हजारका दरले र चार जनालाई पाँच हजारका दरले जरीवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीनकुमार अधिकारीले बताए । 

पसलमा अखाद्य सामग्री राखेर विक्रिवितरण गरिरहेका व्यापारीहरुलाई जरीवाना गरिएको हो । यस्तै मूल्य सूची नराखेकाहरुलाई मूल्य सूची राख्न आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update