Sagun Khabar
राजनीतिमा सक्रिय हुन शिक्षक पदबाट राजीनामा 

बैतडी –स्थानीय तह निर्वाचनको मिति घोषणा भएसंगै बैतडीमा पनि चुनावी चहलपहल बढ्न थालेको छ । राजनीतिक दलहरुले संगठन विस्तारलाई तिव्रता दिईरहेका छन् । विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिहरु समेत राजनीतिमा सक्रिय हुन थालेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ७ को भुवनेश्वर माध्यमिक विद्यालय पत्थरकोटमा कार्यरत एकजना शिक्षकले राजनीतिमा सक्रिय हुन शिक्षक पदबाटै राजीनामा दिएका छन् । विद्यालयमा कार्यरत शिक्षक अम्मरबहादुर कुँवरले शिक्षक पदबाट राजीनामा दिएका हुन् । गएको स्थानीय तहको निर्वाचनमै समेत वडा अध्यक्ष पदको उम्मेद्वारको चर्चा पाएका कुँवरले अहिले भने शिक्षक पदबाटै राजीनामा दिएर राजनीतिमा लागेका हुन् । 

Atrya hospital

कुँवरले नेकपा एमालेबाट पालिका अध्यक्ष पदका लागि आफू आकांक्षी रहेको र त्यसैले शिक्षक पदबाट राजीनामा गरेको बताए । उनले भने ‘राजनीतिलाई सही बाटोमा डोर्याउन पढेलेखेका युवाहरु आउनुपर्छ भन्ने मेरो सोच हो । राजनीतिबाट समाजसेवा गर्ने उद्देश्यले शिक्षक पदबाट राजीनामा गरेको हुँ ।’

१८ बर्षदेखि शिक्षण पेशामा आवद्ध रहेका कुँवरको विद्यालयले एक कार्यक्रमकाबीच बिदाई समेत गरेको छ । शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुने तयारी गरेका शिक्षक कुँवरको बिदाई गरिएको भुवनेश्वर माध्यमिक विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update