बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी शुरु गरिएको छ । महाशिवरात्रीको अवसरमा गोकुलेश्वर महादेव मन्दिरमा भव्य मेला लाग्ने भएका त्यसको तयारी शुरु भएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए ।
मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रंगरोगन समेत गरिएको छ । घुम्ती व्यापारीहरुबाट चन्दा संकलन गरेर मन्दिरमा रंगरोगन कार्य सम्पन्न गरिएको श्रेष्ठले बताए ।
गोकुलेश्वर महादेव मन्दिर ऐतिहासिक र पौराणिक महत्व बोकेको मन्दिर भएपनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । परापूर्वकालमा मानसरोवर जाने तिर्थालुहरु सोही मन्दिरमा राती बास बसेर जाने गरेको समेत श्रेष्ठले बताए । चरणावती अर्थात चमेलिया नदीको किनारमा अवस्थित गोकुलेश्वर महादेव मन्दिरको महिमाको बारेमा स्कण्द पूराणमा समेत उल्लेख गरिएको संस्कृतिका जानकारहरुले बताएका छन् ।
गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रीको अवसरमा भव्य मेला लाग्ने गर्दछ । बैतडी र दार्चुला दुवै तर्फ मेला लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । गोकुलेश्वरको मेलामा टाढाटाढाबाट भक्तजनहरु पुग्ने गरेका छन् ।