Sagun Khabar
बैतडीमा महिलाको नेतृत्व विकासमा सहयोग गर्दै ‘महिला नेतृत्व मञ्च’

बैतडी – बैतडीमा महिलाको नेतृत्व विकासका लागि महिला नेतृत्व मञ्चले पहल गर्न थालेको छ । महिलाहरुको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि मञ्चले पैरवी गरिरहेको हो । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा महिला नेतृत्व मञ्च गठन गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 

नगरस्तरीय महिला नेतृत्व मञ्चका साथै वडास्तरीय महिला नेतृत्व मञ्च गठन गरेर सो मञ्चले महिलाको हक अधिकार र राजनीतिमा महिलाको सहभागिताका लागि पैरवी गर्ने गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए । 

Atrya hospital

महिला नेतृत्व मञ्चमा आवद्ध भएपछि महिलाका हक अधिकार र संविधानमा भएको व्यवस्थाका बारेमा जानकारी भएको दशरथचन्द नगरपालिकास्तरीय महिला नेतृत्व मञ्चकी अध्यक्ष अनिता ज्ञवालीले बताइन् । उनले भनिन् ‘अहिले हामी महिला नेतृत्व मञ्चमा आवद्ध भएपछि महिलाका बिषयमा बोल्न सक्ने भएका छौं । आगामी निर्वाचनमा हामी महिलाको सशक्त सहभागिताका लागि पैरवी गरिरहेका छौं ।’

महिला नेतृत्व मञ्चमा आवद्ध भएपछि विभिन्न किसिमका क्षमता विकास तालिम सञ्चालन भएका र यसले महिला जनप्रतिनिधिहरुलाई समेत सहयोग पुर्याएको दशरथचन्द नगरपालिका वडा नं ४ की वडा सदस्य पार्वती भुलले बताइन् । मञ्चमा आवद्ध भएपछि आफूहरुले अनुभव आदानप्रदान गर्न पाएको उनले सुनाइन् । उनले भनिन् ‘हामीले हाम्रा अनुभवहरु पनि साटासाट गर्न पाएका छौं । यसले गर्दा आगामी दिनमा नेतृत्वमा आउने महिलाहरुलाई समेत सजिलो हुनेछ ।’

महिला नेतृत्व मञ्चमा आवद्ध भएका महिलाहरुको क्षमता अभिवृद्धिका लागि दशरथचन्द नगरपालिकामै कक्ष व्यवस्थापन गरिएको र सो कक्षमा कम्प्युटर, इन्टरनेट समेत जडान गरिएको रुडेसकी सामाजिक परिचालक ललिता जोशीले बताइन् । दशरथचन्द नगरपालिका र पाटन नगरपालिका गरी महिला नेतृत्व मञ्चमा ७ सय बढी महिलाको सहभागिता रहेको बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update