बैतडी –एमसीसी सम्झौता सदनबाट अनुमोदन भएसंगै त्यसको विरोधमा आज नेपाल बन्द गरिएको छ । नेपाल बन्दको प्रभाव बैतडीमा पनि परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन नसकेका यातायात व्यवसायीले बताएका छन् ।
बैतडीमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सबै यातायातका साधन बन्द रहेका महाकाली यातायातका बैतडी सचिव जनक रानाले बताए । बन्दकर्ताहरुले सवारी साधनमा क्षति पुर्याउने डरले यातायातका साधन बन्द गरिएका हुन् ।
संसदबाट एमसीसी अनुमोदन भएसंगै ६ ओटा कम्युनिष्ट पार्टी र २ ओटा मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेका हुन् ।
बन्दकर्ताहरुले आज बिहानै बैतडीको शाहीलेक र गोठलापानीमा टायर बालेर एमसीसीको विरोध गरेका छन् । उनीहरुले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गरेका छन् ।
यसैबीच नेपाल बन्दका कारण यात्रुहरुलाई भने निकै समस्या भएको छ । बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । धनगढी तथा महेन्द्रनगरबाट दार्चुला सदरमुकामका लागि हिडेका गाडीहरु दार्चुलाको गोकुलेश्वरमा रोकिएका छन् ।
बन्दका कारण बिहानैदेखि गाडीहरु चल्न नपाउँदा यात्रुहरुको विचल्ली भएको स्थानीय सुरेश श्रेष्ठले बताए । तराईका जिल्लाबाट आएका गाडीहरु गोकुलेश्वरमै रोकिएका उनले बताए ।