बैतडी – बैतडीका विभिन्न ठाउँमा रहेका शिवमन्दिरहरु महाशिवरात्री पर्वको तयारी गरिएको छ । मंगलबार महाशिवरात्री पर्वको अवसरमा मेला लाग्ने भएकाले शिवालयहरुमा तयारी गरिएको हो ।
शिवमन्दिर तथा शिवालयहरुमा रंगरोगन र सरसफाई लगायतका कार्य गरिएका स्थानीयबासिन्दाहरुले बताएका छन् । जिल्लाको सुर्नया गाउँपालिका २ स्थित पातालभुवनेश्वर धाममा ठूलो मेला लाग्ने भएकाले मेलाको तयारी गरिएको स्थानीयहरुले बताएका छन् ।
पातालभुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । सतीदेवीको पैतला खसेको हुनाले पातालभुवनेश्वर नामाकरण गरिएको संस्कृतिका जानकारहरुले बताएका छन् । यस्तै पातालभुवनेश्वर धामको बारेमा स्कन्दपूराणमा समेत उल्लेख गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।
यस्तै डिलाशैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्री पर्वको भव्य तयारी भएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए । गोकुलेश्वर महादेव मन्दिर पौराणिक चरणावती अर्थात चमेलिया नदीको किनारमा रहेको हुनाले यसको निकै ठूलो धार्मिक महत्व रहेको छ ।
यस्तै महाशिवरात्रीको अवसरमा खोड्पेमा रहेको शिवमन्दिरमा लाग्ने मेलालाई मध्यनजर गर्दै आज बजारमा सरसफाई गरिएको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित शंकरपुरमा समेत महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ ।