बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकालाई वडा नं ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको केन्द्र धामीगाउँबाट सेवा सञ्चालन गर्न फागुन १३ गते पत्र पठाएकाले सोही अनुसारको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पत्राचार गरेको हो ।
डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं ७ को धामीगाउँ भएको र केन्द्र हेरफेर नभएकाले सोही अनुसार धामीगाउँबाटै पालिकाका सबै सेवा सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।
मन्त्रालयको निर्णय कार्यान्वयन गरी धामीगाउँबाटै सबै सेवा सुचारु गर्न जिल्ला प्रशासनले डिलाशैनी गाउँपालिकालाई पत्रमार्फत आग्रह गरेको छ । डिलाशैनी गाउँपालिकाले अहिले वडा नं ३ को पङसेरामा रहेको महादेव माविको भवनबाट सेवा दिँदै आएको छ । पछिल्लो समयमा कार्यपालिकाले पङसेरामा नै केन्द्र राख्ने निर्णय गरेको भएपनि सो निर्णय मन्त्रीपरिषदबाट फिर्ता भएकाले धामीगाउँबाटै सेवा सञ्चालन गर्न गाउँपालिकालाई भनिएको छ ।
डिलाशैनी गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर लामो समय आन्दोलन समेत भएको थियो । स्थानीयहरुको भावना विपरीत कार्यपालिकाले निर्णय गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए । अब साविककै केन्द्रबाट पालिकाले सेवा दिनुपर्ने स्थानीयहरुले बताएका छन् ।