बैतडी–बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीस्थित शिवमन्दिरमा महाशिवरात्री पर्वको तयारी गरिएको छ । मंगलबार लाग्ने मेलालाई मध्यनजर गर्दै आज शंकर संस्कृत मावि मूलखटालीका विद्यार्थी, शिक्षक र शंकरपुर प्रहरीचौकीको अगुवाईमा सरसफाई गरिएको विद्यालयका शिक्षक परमानन्द अवस्थीले बताए ।
शिवमन्दिर सम्म पुग्ने बाटो र शिवालय क्षेत्रमा सरसफाई गर्नुका साथै मन्दिर सजावटको काम गरिएको उनले बताए । महाशिवरात्रीको अवसरमा मंगलबार शंकर संस्कृत माविको प्रांगणबाट बिशेष सांस्कृतिक झाँकी सहित शिवालयमा जाने र दिनभरी भजनकिर्तन गर्ने कार्यक्रम तय भएको शिक्षक अवस्थीले बताए ।
शंकरपुरमा रहेको शिवालयमा परापूर्वकालदेखि नै शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । सो शिवालयमा वडा नं ६ का मात्रै नभएर अन्य वडाका भक्तजनहरु समेत सहभागी हुने गरेका छन् ।