बैतडी – जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
सोमबार सरोकारवालाहरुसंग अन्तरक्रियाको आयोजना गरेर कार्यालय निर्वाचनको तयारी जुटेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए ।
प्रत्येक वडा कार्यालयमा फागुन १९ गते मतादाता नामावली प्रकाशन गरिने र फागुन २३ गते सम्म नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको फुयालले बताए । मतादाता नामावली प्रकाशनपछि नाम सच्याउन, बसाईसराई गरेका र मृत्यु भएकाहरुको नाम हटाउनका लागि फागुन २३ गते सम्मको समय तोकिएको फुयालले बताए ।
जिल्लामा स्थानीय तह निर्वाचनका लागि १२९ मतदानस्थल तोकिएका छन् । बैतडीमा एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।