बैतडी –बैतडीमा संस्थागत सुत्केरी हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम कम हुने भएकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउने आमाको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
तीन बर्षमा बच्चा जन्माउने आमाको तुलना गर्दा स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाको संख्या बढ्दै गएको उनले बताए । आर्थिक बर्ष २०७५÷७६ मा बैतडीमा संस्थागत सुत्केरी हुनेको संख्या ६३.७ प्रतिशत थियो आर्थिक बर्ष २०७६ ÷७७ मा त्यो संख्या बढेर ६४.२ प्रतिशत पुगेको थियो । आर्थिक बर्ष २०७७÷७८ मा संस्थागत सुत्केरी हुनेको संख्या ८५.१ प्रतिशत पुगेको स्वास्थ्य प्रमुख भट्टले बताए ।
विभिन्न पालिकाहरुले घरमा हुने सुत्केरी शुन्य घोषणा अभियान सञ्चालन गरेको हुनाले संस्थागत सुत्केरीको हुनेको संख्या बढ्दै गएको उनले बताए । संस्थागत सुत्केरी हुनेको संख्या बढ्दै गएपछि शिशु मृत्युदर र मातृमृत्युदर पनि घट्दै गएको छ ।
यस्तै नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक बर्षको तुलनामा गर्दा स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउनेको संख्या बढ्दै गएको पाइएको हो । आर्थिक बर्ष २०७५÷७६ मा गर्भजाँच गराउनेको संख्या ६२.४ प्रतिशत रहेकोमा आर्थिक बर्ष २०७७÷७८ मा त्यो संख्या बढेर ७९ प्रतिशत पुगेको छ ।
यस्तै गर्भावस्थाका १८० दिन आइरन चक्की सेवन गर्ने महिलाको संख्या पनि बढ्दै गएको छ । आर्थिक बर्ष २०७५÷७६ मा नियमति आइरन चक्की सेवन गर्ने महिलाको संख्या ६१.९ प्रतिशत रहेकोमा आर्थिक बर्ष २०७७÷७८ मा त्यो संख्या बढेर ७८.२ प्रतिशत पुगेको छ । आइरन चक्कीको सेवनले गर्भवती महिलालाई रक्त अल्पता हुनबाट जोगाउने भएकाले यसको नियमित सेवन गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।