बैतडी –बैतडीमा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले गत मङ्सिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण गर्ने कार्य बन्द गरेको थियो ।
लामो समयसम्म पनि विद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा विदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् । अत्यन्त जरुरी भई कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम सङ्कलन गर्ने कार्य मङ्सिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ ।
अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीय राहदानी वितरण भइरहेको छ ।