बैतडी – बैतडीको सुर्नया गाउँपालिका २ स्थित पातालभुवनेश्वर धाम धार्मिक पर्यटकको रोजाईमा पर्न थालेको छ । केही बर्ष पहिला सम्म खासै दर्शनार्थी नपुग्ने पातालभुवनेश्वर धाममा पछिल्लो समयमा धार्मिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।
नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पातालभुवनेश्वर धामको महिमाका बारेमा प्रवचन दिएपछि धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीय मोहनबहादुर बिष्टले बताए । उनले भने ‘पहिला शिवरात्रीको समयमा मात्रै केही भक्तजनहरु आउने गर्दथे । अहिले अन्य समयमा पनि पातालभुवनेश्वर धाममा भक्तजनहरु आउने गरेका छन् ।’
पातालभुवनेश्वर धामको बारेमा स्कदण्ड पुराणमा १६ हजार श्लोकमा वर्णन गरिएको स्थानीय शिक्षक हरिप्रसाद भट्टले बताए । पातालभुवनेश्वर धाममा पछिल्लो समयमा धार्मिक पर्यटकहरुको संख्यामा पनि वृद्धि हुँदै गएको उनले बताए । महाशिवरात्री पर्वको अवसरमा धेरै भक्तजन आउने गरेका उनको भनाई छ ।
पातालभुवनेश्वर धामलाई धार्मिक वनको रुपमा रुपान्तरण गरी धामको प्रचारका लागि पालिकाले पनि पहल गरिरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । गएको ५ बर्षमा धामको प्रचारप्रसार र विकासका लागि पालिकाका तर्फबाट पहल गरेको उनले बताए ।
पातालभुवनेश्वर धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ भने दक्षिण एसीयाकै लामो गुफा रहेको छ । धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले धार्मिक दर्शनार्थीहरुको संख्या बढ्दै गएको स्थानीय गजराज भट्टले बताए ।