Sagun Khabar
बैतडीमा करीब २५ हजार मतदाता थपिए 

बैतडी –बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन् ।  सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता रहेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ ।

Atrya hospital

जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकोमा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो । ति मतदाताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

जिल्लामा एक लाख ५३ हजार ३८० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए पनि तीन हजार ४१२ जना १८ वर्ष मुनिका रहेका रहेका छन् । १८ बर्षमुनिकाले मतदान गर्न पाउँदैनन् । स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि १२९ मतदानस्थल तोकिएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update