बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गर्ने भएको छ । भारतमा काम गर्ने नेपालीहरु जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने तयारी भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।
बिहीबार रुडेस बैतडीले आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि अन्तरक्रियामा नगर प्रमुख थापाले सो कुरा बताएका हुन् । रुडेस बैतडी र दशरथचन्द नगरपालिकाको संयुक्त सहकार्यमा नमूनाको रुपमा केही वडामा आप्रवासी कामदारको दुर्घटना बीमा गरिने नगर उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन् ‘घरपरिवार पाल्नका लागि भारत पसेका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा गर्नुपर्छ । यसका लागि हामी कार्यपालिकाबाट निर्णय गरेर अघि बढ्छौं ।’
भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्यांक संकलन गरेर उनीहरुको बीमा गरिने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । बार्षिक एक हजार रुपैंयामा ५ लाख सम्मको दुर्घटना बीमा गर्न सकिने उनले बताए । बीमा गरेमा समस्यामा परेका नागरिकलाई सहयोग पुग्ने जोशीले बताए ।
नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय समेत गरेको छ । यस्तै सामाजिक सुरक्षा कार्यक्रमका बिषयमा सचेतना फैलाउन आवश्यक पहल गरिने बताइएको छ ।
यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।