बैतडी –जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बैतडीका विभिन्न ठाउँमा रहेका बजारहरुमा अनुगमन गरिएको छ । स्थानीय तहसंग समन्वयमा अहिले जिल्लाका विभिन्न ठाउँमा बजार अनुगमन भईरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
ढोल्यामोड, श्रीभावर र सुर्नयाको मोतीनगरमा बजार अनुगमन गरिएको भारतीले बताए । अनुगमनका क्रममा ३५ ओटा पसलमा अनुगमन गरिएको उनले बताए ।
अनुगमनका क्रममा १६ ओटा पसलमा म्याद नाघेका सामग्री फेला परेको र ती सामग्रीहरु बरामद गरी नष्ट गरेको संयुक्त अनुगमन टोलीले जनाएको छ । २० हजार ५९५ रुपैंया बराबरको म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ ।
यस्तै अनुगमनका क्रममा उपभोक्ता हित विपरीत सामग्री विक्रि वितरण गरिरहेका १६ जना व्यापारीलाई जरीवाना गरिएको छ । १६ पसलबाट ८० हजार जरीवाना असुल गरिएको सूचना अधिकारी भारतीले बताए ।
अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि वितरण नगर्न, मूल्य सूची राख्न र सम्बन्धित निकायमा दर्ता गर्न समेत आग्रह गरिएको उनले बताए ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका साथै खाद्य, प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय तहका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।