Sagun Khabar
बैतडीको मल्लादेहीमा जहिल्यै खानेपानीको समस्या 
फोटो :बैतडीको मल्लादेहीमा खानेपानी भर्नका लागि स्थानीयहरुले धारामा राखेका भाँडाकुडा

बैतडी –जिल्लाको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीका स्थानीयहरुलाई सुख्खायाम लागेसंगै खानेपानीकै जोहो गर्न मुस्कील हुन्छ । गाउँमा भएको एक मात्रै मूहानमा पानी कम भएपछि स्थानीयहरुलाई खानेपानीको निकै सकस भएको छ । ‘गाउँमा भएका अरु मूहान सुकीसकेका छन् । एउटा मूहानमात्रै थोरै पानी आउँछ । त्यसले गाउँलेहरुलाई पुग्दैन् । वैशाख देखि असार सम्म हामीलाई खानेपानीको जोहो गर्नु निकै मुस्कील हुन्छ ।’स्थानीय महेश बोहराले भने, ‘एक घण्टा टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।’

सुख्खायाममा मल्लादेहीमा खानेपानीको जोहो गर्न निकै मुस्कील हुने गरेको छ । घरको एकजना पानीकै लागि खटिनुपर्ने अवस्था रही आएको स्थानीय लोकेन्द्र बोहराले बताए । उनले भने ‘गाउँमा खानेपानी नहुँदा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । सुख्खायाममा जहिले पनि हामीले यो समस्या भोगीरहेका छौं ।’

Atrya hospital

करीब दुई सय घरपरिवारले उपभोग गर्ने पानीको मूहानमा पानी कम भएपछि अहिले गाउँमा पानीको हाहाकार भएको स्थानीयहरुको भनाई छ । ‘अहिले गाउँमा ज्वरोको प्रकोप एकातिर छ । पानी भर्ने मान्छे नै छैनन् । टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता रही आएको छ ।’स्थानीय जानकी बोहराले भनिन् ‘हामीले जहिले पनि पानीकै दुःख छ । सुख्खायामका तीन महिना हामीले पानीकै लागि भौतारिनुपर्दछ ।’

मल्लादेहीको खानेपानी समस्याका कसैले पहल नगरेको नागरिकको गुनासो छ । ‘स्थानीय सरकार आएपछि समस्या समाधान होला भनेर सोचेका थियौं । तर हाम्रा दिन उस्तै छन् । हामीले पानीकै लागि तड्पिनु पर्ने अवस्था रहेको छ ।’स्थानीय पार्वती बोहराले भनिन् ‘हाम्रो समस्या कसले समाधान गरिदेला ?’ 

गाउँमा खानेपानीको समस्याका बिषयमा नगरपालिकालाई बारम्बार जानकारी गराउँदा कुनै सुनुवाई नभएको स्थानीय महेश बोहराले बताए । उनले भने ‘स्थानीय तहको निर्वाचन ताका सबैको चुनावी नारा खानेपानी थियो । अहिले गाउँको समस्या लिएर जाँदा कोही पनि बोल्न खोज्दैनन् ।’

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update