बैतडी –स्थानीय तहमा जनप्रतिनिधि आएपछि बैतडीको दुर्गाभवानी सडक सञ्जालमा जोडिएको छ । दशरथचन्द नगरपालिका वडा नं ३ दुर्गाभवानी सदरमुकाम नजिकै भएपनि ५ बर्ष पहिला सडक नहुँदा दुर्गम जस्तै थियो ।
वडा कार्यालयले सडक निर्माणलाई प्राथमिकतामा राखेपछि अहिले दुर्गाभवानी सडक सञ्जालमा जोडिएको दशरथचन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दामबहादुर क्षेत्रीले बताए । छेला –दुर्गाभवानी र देहीमाण्डौं –दुर्गाभवानी सडक निर्माण भईसकेको उनले बताए । उनले भने ‘अहिले वडा नं ३ दुर्गाभवानीमा सडकको पहुँच पुगेको छ । दुवैतिरबाट सडक जोडिएपछि वडाबासीलाई सजिलो भएको छ ।’
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा दुर्गाभवानी सडक सञ्जालमा जोडिएको वडा अध्यक्ष क्षेत्रीले बताए । ५ बर्षे कार्यकालमा २१ किलोमिटर सडक निर्माण गरिएको उनले बताए ।
छेला –दुर्गाभवानी सडक करीब १ करोड ३२ लाखमा निर्माण सम्पन्न भएको हो भने देहीमाण्डौं –दुर्गाभवानी सडक निर्माण करीब १ करोड खर्च भएको छ ।
वडाबासीको सडकमा पहुँच पुगेपछि आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिएको वडा अध्यक्ष क्षेत्रीको भनाई छ । अहिले पनि दशरथचन्द नगरपालिका वडा नं ३ को दुर्गाभवानीदेखि दोगडाकेदार गाउँपालिकाको वडा नं ४ सम्म जोड्ने सडक निर्माण भईरहेको वडा अध्यक्ष क्षेत्रीले बताए । यसका लागि चालु आर्थिक बर्षमा वडा कार्यालयले ५ लाख बजेट विनियोजन गरेको उनले बताए ।
वडामा सडक पुगेपछि वडाबासीहरुलाई निकै सजिलो भएको स्थानीय शिक्षक भुवनप्रसाद भट्टले बताए । सदरमुकाम नजिकैको वडा भएपनि सडक नहुँदा दुर्गम वडाको रुपमा रहेको थियो । अहिले सडक पुगेपछि सजिलो भएको उनको भनाई छ ।
गाउँमा सडक पुगेपछि स्थानीयहरुलाई आफूले उत्पादन गरेका कृषि उपज बजार सम्म पुर्याउन निकै सजिलो भएको स्थानीय व्यापारी पदम नाथले बताए । यसका साथै बिरामीहरुलाई अस्पताल पुर्याउन पनि सजिलो भएको उनको भनाई छ ।
वडामा सडकको पहुँच भएपछि वडाबासीहरुलाई सजिलो भएको स्थानीय बेलु क्षेत्रीले बताइन् । उनले भनिन् ‘वडाका दुवैतिरबाट सडक पुगेपछि हामीहरुलाई धेरै सजिलो भएको छ । सडकमा पहुँच भएपछि कृषि उपज बजार सम्म पुर्याउन पनि सहज भएको छ ।’