बैतडी – नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य हजारी साउँद सहित १५६ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आज शिवनाथमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलामा उनीहरुले पार्टीमा प्रवेश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । एकीकृत समाजवादीको सिंगो गाउँपालिका कमिटि एमालेमा प्रवेश गरेको उनले बताए ।
कार्यकर्ता भेलामा एमाले छोडेर एकीकृत समाजवादी लागेका जनप्रतिनिधिहरु पनि एमालेमा समाहित भएका उनले बताए । यस्तै नेपाली कांग्रेसबाट पनि २६ जना एमालेमा प्रवेश गरेको भण्डारीले बताए ।
पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सदस्य लिलाधर भट्ट लगायतका नेताहरुले पार्टीमा स्वागत गरेको एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारीले बताए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले पार्टीमा फर्केकाहरुलाई उचित जिम्मेवारी दिइने बताए । विगतमा पार्टी छोडेर गएकाहरु पार्टीमा फर्किनु राम्रो कुरा भएकाले एमालेबाटै देशले निकास पाउने उनले दाबी गरे ।