बैतडी –लोक तथा ड्यौडा गायिक रेखा जोशी गीत मार्फत जनचेतना फैलाउन थालेकी छिन् । ८ सय भन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि सांगितिक कार्यक्रममा सहभागी हुन थालेकी हुन् ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको छ । उनी अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सांगितिक कार्यक्रममा व्यस्त छिन् । महिनावारीको समयमा गरिने विभेद अन्त्यका लागि गीत मार्फत जागरण फैलाईरहेको उनले बताइन् । उनले भनिन् ‘हाम्रो समुदायमा अझै पनि विभिन्न खालका हानिकारक प्रचलनहरु रहेका छन् । ती प्रचलनहरु हटाउनका लागि हामीले पहल गर्नुपर्छ । यस्ता हानिकारक प्रचलनहरुले हाम्रो समाजमा थुप्रै समस्या निम्त्याएको छ ।’
महिनावारी भएको बेला गरिने विभेदले ठूलो समस्या निम्त्याएकाले आफूले गीत मार्फत सचेतना फैलाईरहेको उनले बताइन् ।
सोमबार बैतडीको पञ्चेश्वरमा सांगितिक महोत्सव हुने र त्यसमा पनि हानिकारक प्रचलन अन्त्यका लागि गीत मार्फत आग्रह गरिने उनले बताइन् । यस्तै मंगलबार जिल्लाको शिवनाथ गाउँपालिकामा सांगितिक महोत्सवको आयोजना गरिने बताइएको छ ।
सांगितिक कार्यक्रम मार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतको रुपमा अगाडि सारेको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । उनले भने ‘हामी खानेपानी र सरसफाईको क्षेत्रमा काम गरिरहेका छौं । तर महिनावारी भएको बेलामा अझै पनि हाम्रो समुदायका महिलाहरुले चर्पी प्रयोग गर्न पाइरहेका छैनन् । खानेपानीका धारा छुन पाएका छैनन् । त्यसैले हामीले सांगितिक महोत्सव मार्फत परिवर्तन गर्न खोजी रहेका छौं ।’
स्थानीय तहहरुसंग मिलेर सुदूरपश्चिमका डोटी,डडेल्धुरा, बझाङ र बैतडीमा सांगितिक महोत्सवको आयोजना गरिएको र ती महोत्सवमा जनचेतनामूलक गीतहरु पस्कने गरेको बताइएको छ ।
गीत संगित मार्फत समाज रुपान्तरणका लागि आफू लागेको परेको गायिका जोशीले बताइन् ।