कैलाली –धनगढीमा सोमबार बिहान फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव भारतीय नागरिकको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
फेला परेको शव भारतको उत्तरप्रदेशस्थित शाहजापुराका ४२ वर्षीय कुल्दीप गुप्ताको भएको उनका भाईले सनाखत गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) वेदप्रकाश जोशीले बताए ।
मृतक कुल्दीपको घाँटी र गालामा चोटपटक रहेकाले उनको हत्या भएको प्रहरीले जनाएको छ । उनको शरीर घाउमा काठका टुक्रा भेटिएको र घटनास्थलमा काठको डन्डी पनि भेटिएको प्रहरीले जनाएको छ । उक्त काठ घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पोष्टमार्टम भइरहेको र थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
सोमबार बिहान १० बजे धनगढी उपमहानगरपालिका–५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा कुल्दीप गुप्ताको शव फेला परेको थियो ।