Sagun Khabar
बैतडीमा विद्यालय हाँक्दै शिक्षिका 

बैतडी – महाकाली राजमार्गबाट करीब २० मिनेटको कच्ची सडक पार गरेपछि गाउँको नजिकै छानी सामुदायिक प्राथमिक विद्यालय छ । २०५७ सालमा ‘कोप’ नामक संस्थाको सहयोगमा स्थापना भएको सो विद्यालय पछिल्लो एक दशक यता समुदायले सञ्चालन गर्दै आईरहेको छ । शुरुदेखि नै महिला शिक्षिका कार्यरत रहेको सो विद्यालयमा अहिले पनि ४ जना महिला शिक्षिकाहरुले सेवा दिईरहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ स्थित छानी सामुदायिक आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षिकाहरु निकै रमाईरहेका पाइन्छन् । ‘महिलाले नेतृत्व गर्न सक्तैन । संस्थाले पनि छोडीसक्यो । अब पुरुष शिक्षकहरु पनि राखौं भनेर गाउँले धेरै पटक भने तर हामीले महिलालै नेतृत्व गरेर विद्यालय सञ्चालन गर्न सक्छौं भनेर एकदशकदेखि सञ्चालन गरिरहेका छौं ।’विद्यालयकी प्रधानाध्यापक दमयन्ती जोशीले भनिन् ‘हामीले विद्यालयमा बालमैत्री वातावरणका साथ कक्षा सञ्चालन गरिरहेका छौं । शिक्षणका आधुनिक सामग्रीहरुको प्रयोग गरेर पठनपाठन गरिरहेका छौं ।’

विद्यालयका बालबालिकाहरु पनि शिक्षिकाहरुसंग घुलमिल भएर सिक्ने गरेका छन् । ‘स साना बालबालिकाहरु हामीहरुसंग रमाएर सिक्ने गरेका छन् । हामीले आमाको जस्तै व्यवहार गरेर सिकाईरहेका छौं ।’शिक्षिका भुवनेश्वरी भट्टले भनिन् ‘हाम्रो गाउँपालिकामा सञ्चालित प्राथमिक विद्यालयमध्ये हामी उत्कृष्ट छौं । महिलाहरुले केही गर्न सक्तैनन् भन्नेहरुलाई काम गरेर देखाएका छौं ।’

Atrya hospital

विद्यालयमा खानेपानी,शौचालय,कम्प्युटर लगायतको व्यवस्था गरेको प्रधानाध्यापक जोशीले बताइन् । उनले भनिन्‘हामीले समुदायमा उदाहरणीय काम गर्न सफल भएका छौं । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा विद्यालयलाई प्रविधिमैत्री बनाएका छौं ।’

विद्यालयमा हिजोआज किताब भएका कुराहरु आँफै पढ्ने मेसिन पनि प्रयोग गरिरहेको विद्यालयका शिक्षिका भुवनेश्वरी भट्टले बताइन् । ‘साना कक्षाका भाईबहिनीहरुलाई सिकाउनका लागि किताबमा भएका कुराहरु पढ्ने मेसिन गाउँपालिकाले उपलब्ध गराएको छ । यसको प्रयोगले स साना नानीहरुलाई सिकाउन सहयोग मिलेको छ ।’

छानी सामुदायिक प्राथमिक विद्यालयका विद्यार्थीहरु पनि शिक्षिकाहरुसंग पढ्न निकै आनन्द लाग्ने गरेको बताउँछन् । ‘हामीलाई म्याडमहरुले राम्रोसंग पढाउनुहुन्छ । घरको जस्तै व्यवहार गर्नुपर्छ । त्यसैले हामीलाई विद्यालयमा आउन निकै आनन्द लाग्ने गरेको छ ।कक्षा ५ की छात्रा सिर्जना जोशीले भनिन् ‘म्याडमहरुले हाम्रो सरसफाईका कुराहरु पनि हेर्नुहुन्छ । माया गरेर पढाउनुहुन्छ अनि हामीलाई घरमा भन्दा विद्यालयमा रमाइलो लाग्ने गरेको छ ।’

बैतडीमा करीब १५ ओटा सामुदायिक विद्यालयहरुमा शिक्षिकाहरुले मात्रै अध्यापन गराईरहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । शिक्षिकाहरु भएका प्राथमिक विद्यालयमा बालमैत्री सिकाइको वातावरण भएको उनले बताए । उनले भने ‘प्राथमिक तहका विद्यालयहरुको सिकाई उपलब्धि हेर्दा शिक्षिकाहरु मात्रै भएको विद्यालयको सिकाइ उपलब्धि तुलनात्मक रुपमा राम्रो छ । बालबालिकाहरु पनि शिक्षिका भएका विद्यालयमा बढी घुलमिल हुने गरेको पाइएको छ ।’
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update