Sagun Khabar
बैतडीको शिवनाथमा सचेतनामूलक सांस्कृतिक महोत्सव सम्पन्न 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा सचेतनामूलक सांस्कृतिक महोत्सव सम्पन्न गरिएको छ । शिवनाथ गाउँपालिकाको आयोजना तथा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । महिनावारी भएको बेला गरिने विभेदको अन्त्यका लागि महोत्सवको आयोजना गरिएको हो । 

सचेतनामूलक गीत मार्फत समाजमा रहेका हानिकारक प्रचलनको अन्त्यका लागि महोत्विको आयोजना गरिएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । 

Atrya hospital

महोत्सवमा मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत समेत रहेकी लोक तथा ड्यौडा गायिका रेखा जोशीले विभिन्न गीतहरु मार्फत सचेतनामूलक सन्देश दिएकी छिन् । 

यस्तै लोक तथा ड्यौडा गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाल लगायतका कलाकारहरुले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । 

महिनावारी भएको समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने गायिका जोशीले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा रहेका हानिकारक प्रचलनहरुले विभिन्न प्रकारका हिंसाहरु भईरहेका छन् । यस्ता खालका हिंसा न्यूनीकरणका लागि कुप्रथाहरुलाई हटाउन जरुरी छ ।’

महिनावारी भएको समयमा महिलाहरुले अझै पनि दुधदही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउने लगायतका समस्याहरु रहेकाले त्यस्ता खालका समस्याहरु हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् । महोत्सवमा शिवनाथ गाउँपालिका सहित विभिन्न ठाउँका हजारौं दर्शको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update