बैतडी –बैतडीका १० ओटै स्थानीय तहका विद्यालयहरुमा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ४ हजार ७ सय ३ जना बालबालिका लाभान्वित भएका छन् । दुगर्म क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर बालबालिकाहरुको आँखा,कान र दाँत चेकजाँच गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहका एक÷एक ओटा विद्यालयमा पहिलो चरणमा शिविरको आयोजना गरिएको जोशीले बताए । शिविरबाट १ हजार ५८४ जना बालबालिकाले आँखा, १ हजार ४९२ जनाले कान र १ हजार ६२७ जनाले दाँतको चेकजाँच गरिएका छन् ।
पालिकाका दुर्गम स्थानमा रहेका बालबालिकाहरुलाई विद्यालयमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
पञ्चेश्वरको गाउँपालिकाको जयपुर मावि जेबलकट्टे, मेलौली नगरपालिकाको विजयपुर मावि तिताबै, दशरथचन्द नगरपालिकाको कालिका मावि थालिगडा, दोगडाकेदार गाउँपालिकाको भगवती मावि सित्तड र डिलाशैनी गाउँपालिकाको सरस्वती मावि नानरामा शिविरको आयोजना गरिएको थियो ।
यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वर मावि, पाटन नगरपालिकाको त्रिपुरेश्वर मावि वसन्तपुर, पुर्चौंडी नगरपालिकाको भूमीराज मावि गहताड, सिगास गाउँपालिकाको शारदा मावि ढुंगाड र शिवनाथ गाउँपालिकाको पिपलकोट मावि उदयदेवमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।