बैतडी – नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले अश्लील शब्दमा गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा अश्लील शब्दमा गाली गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिइएको छ ।
अनेरास्ववियुका नेता यज्ञ भट्टलाई अडियोमा अश्लील गाली गर्दै पालले सिद्ध्याइदिने धम्की समेत दिएका छन् । उनले अडियोमा भनेका छन् ‘तेरो हिसाबकिताब हुन्छ । तलाई अहिले बनाइदिउँ दश मिनेटमा ।’
पालको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले आक्रोश पोखेका छन् । पार्टी अध्यक्षले यसरी गाली गरेको भन्दै पालको तीव्र आलोचना भईरहेको छ ।
यता अध्यक्ष पालबाट गाली खाएका यज्ञ भट्टले अडियो सार्वजनिक नगर्न आग्रह गरेका छन् । अडियो आफ्नो व्यक्तिगत जीवनसंग जोडिएको बिषय भएकाले सार्वजनिक गर्ने परिस्थती आएमा आँफैले सार्वजनिक गर्ने बताएका छन् ।
यस्तै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले पनि अश्लील शब्दमा गाली गरेको अडियो भाइरल भएको छ । उनले फोनमा आफ्नो अडियो रेकर्ड गर्न समेत चुनौती दिएकी छिन् ।
आफूलाई पार्टीबाट पछार्न खोजेको भन्दै विभिन्न अश्लील शब्द बोलेकी छिन् । गाउँपालिकाको उपाध्यक्षले यसरी छाडा शब्द बोलेको भन्दै उनको पनि सामाजिक सञ्जालमा आलोचना भईरहेको छ ।