बैतडी – बैतडीका ९ ओटा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ । विद्यालयमा खानेपानी,सरसफाई तथा स्वचछताको अवस्था सुधार गरी विद्यालयहरुलाई तीनतारे घोषणा गरिएको हो ।
ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा पालिकाहरुले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए ।
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि १० ओटा सूचक पूरा गरेका विद्यालयहरुलाई तीनतारे विद्यालय घोषणा गरिएको हो । खानेपानी, शौचालय, सफा र स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, बिपद जोखिम व्यवस्थापन लगायतका सूचक पूरा गरेका विद्यालयहरुलाई तीनतारे विद्यालय घोषणा गरिएको तिरुवाले बताए ।
जिल्लाको शिवनाथ गाउँपालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाका ५ ओटा विद्यालयहरुलाई तीनतारे घोषणा गरिएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । शिवनाथ गाउँपालिकाका जिम्मेश्वर आधारभूत विद्यालय, खम्पाल आधारभूत विद्यालय, कैलपाल आधारभूत विद्यालय र शिवपूर्ण आधारभूत विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिकाका प्रगति आधारभूत विद्यालय, देवथला माध्यमिक विद्यालय, नागार्चन आधारभूत विद्यालय, कुलाउ माध्यमिक विद्यालय र सोमेश्वर माविलाई तीनतारे घोषणा गरिएको छ ।
तीनतारे घोषणा भएका विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छताका सूचक पूरा भएका ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।