बैतडी – सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दशओटा शहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णयसंगै दशौं शहरको रुपमा रहेको बैतडीको पाटनमा जग्गा एकीकरणको काम अझै अघि बढ्न सकेको छैन् । पाटन नयाँ शहर घोषणा भएको एक दशक बढी भईसक्दा समेत जग्गा एकीकरणको काम अघि बढ्न नसकेको हो ।
करीब २ लाख मानिसको बसोबास गराउने, आधुनिक शहरका सुविधा सहित व्यवस्थित शहर बनाउने योजना रहेको भएपनि नयाँ शहरको काम सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन् ।
नयाँ शहर बनाउने घोषणा भएको भएपनि यसको कामलाई अघि बढाउनका लागि बजेट पनि थोरै आउने गरेको पाटन नयाँ शहर आयोजनाका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताए ।
पाटन नयाँ सहर आयोजना अन्तर्गत डोबरा,भट्टाड लगायतको ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासका कामलाई अघि बढाउने योजना छ । सरकारले जग्गा एकीकरण सडक निर्माण लगायतका काम गरेर फेरी स्थानीयहरुलाई फिर्ता गर्ने भएपनि जग्गा एकीकरणमा सहमति जुट्न नसकेको भण्डारीले बताए । उनले भने ‘स्थानीयबासीहरुसंग सहमति जुटाएर मात्रै जग्गा एकीकरणको काम अघि बढ्छ । तर सहमति नहुँदा समस्या भईरहेको छ ।’
जग्गा एकीकरणका लागि नगर विकास कोषले सहमति गर्नुपर्ने भएपनि अहिले सम्म स्थानीयहरुसंग सहमति हुन सकेको छैन् ।
पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकास, कोल्डस्टोर निर्माण, खानेपानी योजना लगायतका कामहरु भने अघि बढेका इन्जिनियर भण्डारीले बताए ।
पाटन बजार क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि ल्याण्डफील साइड निर्माणको काम समेत भईरहेको इन्जिनियर भण्डारीले बताए । उनले भने ‘ल्याण्डफिल साइड निर्माणका लागि पहिला पनि केही काम भएको छ । थप कामका लागि ठेक्का सम्झौता भईसकेको छ ।’