बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले नेपालका कम्युनिष्ट कुहिरको काग जस्तै भएको बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेयले कम्युनिष्टहरु गलत बाटोमा बरालिएको बताए । उनले भने ‘नेपालका कम्युनिष्टहरु कुहिरोको काग जस्तै भएका छन् । उनीहरुसंग नीति, विचार र सिद्धान्त छैन् ।’
कम्युनिष्टहरु भित्रभित्रै खोक्रो हुँदै गएको समेत उनले बताए । कम्युनिष्टहरुले जनताको पक्षमा कहिले पनि काम गर्न नसकेको सहमहामन्त्री पाण्डेयको आरोप छ ।
नेपाली कांग्रेस विपीको समाजवादमा अगाडि बढेको दाबी गर्दै सहमहामन्त्री पाण्डेयले नेपाली कांग्रेसले कसैको विरोध नगर्ने बताए । उनले भने ‘हाम्रो सभापतिले पनि भन्नुभएको छ । कसैको विरोध नगरौं । हामी हाम्रो बाटोमा हिडिरहेका छौं ।’
एमसीसीको बिषयमा बोल्दै सहमहामन्त्री पाण्डेयले एमसीसीका बिषयमा नेपाली कांग्रेस जहिले पनि प्रष्ट रहेको बताए । एमसीसी अनुदान सहयोग भएकाले त्यसलाई संसदबाट पारित गरेको उनले बताए । उनले भोटको राजनीति नगरेर देशको विकासका लागि एमसीसी पास गरेको बताए । उनले भने ‘एमसीसीको बिषयमा कम्युनिष्ट पार्टीका नेताहरु प्रधानमन्त्री भएकै बेलामा अगाडि बढेको तर पछि विरोध मात्रै गरे ।’
एमसीसी धनी देशहरुले गरीब देशहरुलाई अनुदान दिने कार्यक्रम मात्रै भएको उनले बताए । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा भएको आमसभामा ५ सय ५० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।