बैतडी –बैतडीका बजारहरुमा म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने क्रम रोकिएको छैन् । संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन गर्दा म्याद नाघेका सामग्री विक्रि वितरण भईरहेको पाइएको हो ।
बजार अनुगमनका क्रममा पसलेहरुले अझै पनि म्याद नाघेका सामग्री विक्रि वितरण गरिरहेका पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताए । अनुगमन गरेका सबै ठाउँमा म्याद नाघेका सामग्री विक्रि भईरहेको पाइएको उनले बताए । उनले भने ‘बजारमा अझै पनि म्याद नाघेका सामग्री विक्रि हुने क्रम रोकिएको छैन् । त्यसैले उपभोक्ताहरुमा पनि सचेत हुनु आवश्यक छ ।’
फागुन महिनामा मात्रै बजार अनुगमनका क्रममा अखाद्य सामग्री विक्रि वितरण गर्ने व्यापारीबाट १ लाख ६५ हजार जरीवना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
उपभोक्ताको हकहित संरक्षणका लागि नियमित रुपमा बजार अनुगमन भईरहेको उनले बताए । बजारबाट उपभोग्य सामग्री किन्दा उत्पादन मिति, उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उनले आग्रह गरेका छन् ।
बजारमा हुने कालोबजारी रोक्न, अखाद्य सामग्रीको विक्रि वितरणमा रोक लगाउनका लागि बजार अनुगमन भईरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताए । तर अझै पनि बजार अनुशासन नरहेको उनले बताए ।