बैतडी –नेपाली कांग्रेसले आजदेखि शुरु गरेको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’अभियानका लागि बैतडीका दश ओटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ । एक महिना सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक पालिकामा प्रतिनिधि खटाएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य यज्ञराज जोशी बैतडी आइपुगेका र प्रत्येक पालिकाका लागि जिल्ला कार्यसमिति प्रतिनिधि खटाएको सचिव चन्दले बताए ।
दशरथचन्द नगरपालिकामा पार्टीका प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थीलाई खटाइएको छ भने पाटन नगरपालिकामा जिल्ला सभापति चतुरबहादुर चन्दलाई खटाइएको छ । मेलौली नगरपालिकामा पूर्र्व सभापति शिवराज भट्टलाई खटाइएको छ ।
यसैगरी पुर्चौंडी नगरपालिकामा पार्टीका महाधिवेशन प्रतिनिधि केशवबहादुर चन्द, दोगडाकेदार गाउँपालिकामा महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारी,सुर्नया गाउँपालिकामा इन्जिनियर दिपेन्द्रबहादुर बम, शिवनाथ गाउँपालिकामा कृष्णसिंह नायक, पञ्चेश्वर गाउँपालिकामा शेरीराम पार्की र सिगास गाउँपालिकामा विष्णुदत्त जोशीलाई प्रतिनिधिको रुपमा खटाइएको कांग्रेस बैतडीले जनाएको छ ।
अभियानका दौरानमा नेपाली कांग्रेसको विधान, निती सिद्धान्तका बिषयमा नागरिकलाई जानकारी दिइने र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन नागरिक आग्रह गर्ने कार्यक्रम रहेको सचिव चन्दले बताए ।
अभियानको शुरुवात आज एक कार्यक्रमकाबीच दिउँसो १ बजे गरिनेछ । डिलाशैनी गाउँपालिकाबाट अभियानको शुरुवात गरिने बताइएको छ । त्यसका लागि केन्द्रिय सदस्य यज्ञराज जोशी लगायतका नेताहरु डिलाशैनी पुगेका नेपाली कांग्रेस बैतडीले जनाएको छ ।