बैतडी –जिल्लाको दशरथचन्द नगरपालिका १ दौनेबाँजकी राजु लुहारको चुल्हो बल्न छोडेको छ । जारी निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि भोकै बस्नुपर्ने स्थिती आएको उनले सुनाइन् । ‘हामी मजदुरी गरेर परिवार, बालबच्चा पालीरहेका थियौं । यो लकडाउनले काम पनि नपाउने अवस्था आयो । बालबालिकाहरुलाई के खुवाउने साह्रै समस्या भएको छ ।’उनले भनिन् ‘दैनिक छाक टार्न मुस्किल भएको छ । जमीन पनि छैन् । उधारो पनि पाइदैन । के गरेर परिवार पाल्ने ?’
दौनेबाँजकै पार्वती लुहारलाई पनि अहिले दैनिक छाक टार्नैै मुस्किल भएको छ । दिनभरी काम गरेर साँझ खानाको जोहो गर्ने पार्वतीलाई लकडाउनले काम रोकिएपछि समस्या भएको हो । उनले भनिन् ‘हामीलाई रोगभन्दा भोकले मार्ने भयो । बालबालिकाहरुलाई के दिने साह्रै चिन्ता भएको छ ।’
सोही ठाउँकी निर्मला लुहारलाई पनि अहिले लालाबाला हुर्काउन सकस छ । कोरोना भाईरसका कारण सबै ठाउँमा काम बन्द भएपछि उनले मजदुरी गर्न पाएकी छैनन् । ज्याला मजदुरी गर्न नपाउँदा उनलाई पनि साँझ बिहानकै छाक टार्न हम्मेहम्मे भएको छ । उनले भनिन् ‘कोरोना नभएको भए त काम गरिन्थ्यो । काम गरेको ज्यालाले बालबालिकाले पाल्ने गथ्र्यौ । म त एकल महिला हुँ सामाजिक सुरक्षा भत्ता पनि पाइएको छैन् । कसरी बालबालिका पाल्ने ? के खाने साह्रै समस्या भएको छ ।’
कोरोनाका कारण मजदुरी गर्न नपाउँदा समस्यामा परेका यी केही उदाहरण मात्रै हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण मजदुर वर्ग समस्यामा परेका छन् । उनीहरुले काम गर्न नपाउँदा दैनिक छाक टार्न मुस्किल भएको छ । ‘हामी मजदुरी गरेरै परिवार पालीरहेका हौं । घरका सबै मानिस अहिले बेरोजगार भएका छौं । कसरी घर परिवार पाल्ने ?’दशरथचन्द नगरपालिका १ दौनेबाजकै धनी लुहारले भने
बैतडीमा कति मजदुर छन् भन्ने यकिन तथ्यांक नभए पनि दैनिक मजदुरी गरेर खानेवर्गलाई अहिले निकै समस्या भएको छ । स्थानीय सरकारहरुले पनि दैनिक मजदुरी गरेर छाक टार्ने नागरिकको लागि खासै कार्यक्रम ल्याउन सकेका छैनन् । यसले गर्दा उनीहरु झन् समस्यामा परेका छन् ।
जिल्लामा कोरोना भाईरसको संक्रमणदर बढ्दै गएपछि गएको वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमण अझै पनि तीव्र रुपमा बढीरहेकाले निषेधाज्ञा लम्बिने निश्चित छ ।