बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा गरिएको तालाबन्दी अझै खुलेको छैन् । वडामा गरिएको तालाबन्दी खुलाउने बिषयमा आज जनप्रतिनिधि र स्थानीयहरुबीच सहमति नहुँदा तालाबन्दी जारी रहेको संघर्ष समितिका संयोजक हरिश कुँवरले बताए ।
गएको शुक्रबार स्थानीयहरुले विभिन्न माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडामा गरिएको तालाबन्दी खुलाउनका लागि गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट, वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवर, वडा नं ४ का वडा अध्यक्ष दिनेश भट्ट लगायतका जनप्रतिनिधिहरुले स्थानीयहरुसंग छलफल गरेका थिए ।
स्थानीयहरुले आफूहरुले राखेका १४ बुँदे माग पूरा गर्नका लागि लिखित प्रतिबद्धताको माग गरेको भएपनि प्रतिबद्धता नआउँदा वार्ता विफल भएको कुँवरले बताए । आफूहरुका माग सम्बोधन नहुँदा सम्म तालाबन्दी जारी रहने उनले बताए । जनप्रतिनिधिहरु वार्तास्थलबाट भागेको उनले आरोप लगाएका छन् ।
यो बिषयमा वडा अध्यक्ष दिनेशप्रसाद भट्टलाई सम्पर्क गर्न खोज्दा उनको फोन रिसिभ हुन सकेन् ।