Sagun Khabar
बैतडीमा राष्ट्रिय परिचय पत्रका लागि वडाबाटै विवरण संकलन हुने 

बैतडी –बैतडीमा वडा तहबाटै राष्ट्रिय परिचय पत्र वितरणको काम हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलनको काम हुँदै आएको अब वडा तहबाटै विवरण संकलन गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यही चैत ६ गतेबाट वडा तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि कर्मचारी खटाइने उनले बताए । विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचय पत्र जारी गर्ने र सो परिचय पत्र वडाबाटै वितरण हुने भारतीले बताए । 

Atrya hospital

पहिलो चरणमा जिल्लाका चारओटा पालिकाका वडाहरुमा विवरण संकलनको काम शुरु हुने बताइएको छ । शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वडामा विवरण संकलनको काम शुरु हुने सूचना अधिकारी भारतीले बताए । यसका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइनेछन् । 

त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडाहरुमा पनि विस्तारै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम शुरु हुने सूचना अधिकारी भारतीले बताए । 

१६ बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुनेछ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले आफ्नो नाम दर्ता गराउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update