बैतडी – बैतडीको आकाशमा सोमबार प्याराग्लाइडिङ उडान गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ र २ को क्षेत्रमा प्याराग्लाइडिङ उडाइएको हो । सोमबार दिउँसो आकाशमा देखिएको प्याराग्लाइडिङलाई सतबाँझको चुचुरोमा अवतरण गरिएको थियो ।
यस्तै पुर्चौंडी नगरपालिकाको आकाशमा पनि प्याराग्लाइडिङ उडाएको स्थानीय धनसिंह साउँदले बताए । प्याराग्लाइडिङ कसले उडाएको हो भन्ने कुरा यकिन भएको छैन् । पुर्चौंडी र दनपामा उडान गरिएको प्याराग्लाइडिङ एकै हो कि फरक हो भन्ने पनि एकीन भएको छैन् ।
आकाशमा प्याराग्लाइडिङ उडाउनका लागि स्थानीय प्रशासनको अनुमति लिनुपर्ने भएपनि त्यस्तो अनुमति कसैले नलिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यो बिषयमा आफूले बुझिरहेको समेत उनले बताए ।
स्थानीय प्रशासनको अनुमति बिना प्याराग्लाइडिङ सञ्चालन गर्नु कानुन विपरीतको कार्य भएपनि बैतडीको आकाशमा प्याराग्लाइडिङ उडान गरिएको हो । यसको बिषयमा खोजबीन हुने र सम्बन्धित निकायबाट अनुमति नलिएको पाइएमा कारवाही हुने भारतीले बताए ।