Sagun Khabar
सुदूरपश्चिममा भिटौलो शुरु 
फाइल फोटो

बैतडी – चैत महिनाको शुरु भएसंगै बैतडी सहितका सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको यसैलाई भिटौलो भन्ने गरिएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् । 

मिठो मसिनो पकाएर छोरी बहिनीहरुलाई उनीहरुकै घरमा गएर प्रत्येक बर्ष चैतको महिना भेट्ने चलन रही आएको दार्चुलाका गंगासागर जोशीले बताए । उनले भने ‘हाम्रो परम्परागत चलन हो । चैतको महिना दीदीबहिनीलाई भेट्ने । मिठोमसिनो पकाएर ल्याउने, दीदी बहिनीहरुका लागि लुगा कपडा ल्याउने अनि एक दुई बस्ने, दुःख सुखहरु बाड्ने चलन पहिलादेखिको हो ।’

Atrya hospital

चैतको महिना दीदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको जोशीले बताए । चैतको महिना भेटघाट गर्ने र छोरीबैनीहरुको दुखसुखका बारेमा कुराकानी हुने गरेको जोशीले बताए । 

चैतको महिनामा माइतीबाट दाजुभाई कहिले भेट्न आउलान भनेर दिदी बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् । आफ्ना दाजुभाई नहुनेहरुले वल्लोपल्लो घरका दाजुभाईहरु समेत गएर भेटघाट गर्ने चलन छ । छोरीबहिनीहरु प्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाका चलन चलेको पण्डित देवदत्त भट्टले बताए । उनले भने ‘माइतीघरबाट पराइ घरमा रहेकी छोरीबहिनीहरुप्रति आत्मीयता दर्शाउन भिटौलाको चलन चलेको हो ।’

पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् ।  

माइतीले चैतको महिना छोरीबहिनीहरुलाई भेट्ने चलन परापूर्वकालदेखि चलि आएको स्थानीय संंस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने ‘दाजुभाई दीदीबहिनीबीचको आत्मीय सम्बन्धको एक कडी हो भिटौलो पर्व । हाम्रो समाजमा पहिलादेखि नै महिलाको उच्च सम्मान गर्ने चलन छ । त्यसै चलनको रुपमा यसलाई लिन सकिन्छ ।’
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update