बैतडी –बैतडीको पाटनस्थित बैतडी विमानस्थल सञ्चालनमा आएसंगै टर्मिनल भवन र टावर निर्माणको काम भईरहेको छ । विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा आएसंगै विमानस्थलको भवन र टावर निर्माणको काम शुरु भएको बैतडी नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
गएको भदौदेखि भवन निर्माण र टावर निर्माण कार्य शुरु भएको बैतडी नागरिक उडड्यन कार्यालयका बरिष्ठ अधिकृत दीपक भट्टले बताए । झण्डै ५ करोडको लागतमा आरसी कन्सट्रक्सनले भवन र टावर निर्माणको काम गरिरहेको उनले बताए ।
विमानस्थलमा एकै पटक तीनओटा जहाजका यात्रुहरुलाई व्यवस्थापन गर्ने हिसाबले भवन निर्माणको काम भईरहेको छ । डिपार्चर हल, अराइभल हल, भीआइपी कक्ष सहितको भवन निर्माणको काम भईरहेको भट्टले बताए । भवन र टावर निर्माणका लागि निर्माण कम्पनीसंग १८ महिने सम्झौता भईसकेको छ ।
भवन र टावर निर्माणको काम सम्पन्न भएपछि नियमित जहाज उडान हुने विश्वास समेत गरिएको छ । २०७६ को असोजमा परीक्षण उडान सफल भएपछि अहिले बैतडी विमानस्थल पाटनमा समीट एयरले हप्ताको एकदिन धनगढी –पाटन उडान भर्दै आएको छ । हप्ताको एक दिन उडान भएपनि अत्यावश्यक कामका लागि धनगढी जानुपर्नेहरुका लागि सजिलो भएको स्थानीयहरुले बताएका छन् ।
विमानस्थल निर्माण भएर सञ्चालनमा आएसंगै विमानस्थलमा नियमति उडान हुनुपर्ने स्थानीयहरुको माग रही आएको छ । हप्ताको एक दिन मात्रै नभएर नियमित रुपमा जहाज सञ्चालन गर्न सके स्थानीयहरुलाई सहज हुने पाटनका स्थानीय कमलसिंह बोहराले बताए । उनले भने ‘विमानस्थल सञ्चालनमा आएको छ । यसमा नियमित रुपमा जहाज सञ्चालन गर्ने व्यवस्था गर्न सके झन् राम्रो हुने थियो । त्यसैले नियमित उडान गर्ने तर्फ सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।’